कहिलेकाँही घरमा रात नसुतेरै बित्छ र भोलिपल्टको दिउँसो सुतेर निद्रा पुर्याउन खोज्दा मरिगए निद्रा आउँदैन । अर्को रातमा पनि निद्रा आएन भने त १ टन फलामको भारी थपिएको जस्तो बोझ महसुस हुनेछ । जिउ फत्रक्कै गल्नेछ । अनुहार चुम्रुक्क चाउरी पर्नेछ । दुर्दशा देखेर साथीभाइले गिज्याउनेछन् । तेस्रो रात पनि निदाइएन भने त आफैले निम्त्याएको बिमारले ओछ्यान पार्ने पक्का !
अब के गर्ने ? मसँग यसको काइदाको जुक्ति छ । यस्तो अवस्थामा म करिब १ घण्टा लामो गाडीयात्रामा निस्कन्छु । घरकालाई भनिदिन्छु, ‘मेरो त फलानालाई भेट्ने जरुरी काम छ, छिट्टै फर्किहाल्छु नि ।‘ स्वीकृति मिलेमा जाँदा र आउँदा गरी २ घण्टाको समय उबारेर निर्धक्क आफ्नै पोल्टोमा । तर एकान्त खोज्दै एक्लो यात्रामा निस्किएको अवस्थामा गाडीमै चिनजानको मान्छे भेटिए भने त बित्याँसै पर्छ । यस्तो अवस्थामा उनीसँग जरुरी काम पर्यो भनेर दोस्रो स्टपमै ओर्लिएर फेरि अर्को गाडी चढ्नुपर्छ । मुफतमा भाडा त जान्छ नै । तर, निद्रा लगाउने औषधि किन्नु परेमा वा बिरामी परेर उपचार खर्च बेहोर्नुपर्ने खर्चभन्दा न्यून हुन्छ निरुद्देश्य गाडीमा तिर्नुपरेको भाडा ।
‘गाडीमा निदाउनकै लागि बाहिर जाँदै छु !’ भनेर साँचो कुरा भनियो भने घरपरिवारकाले मगज सट्किसकेको बुझ्न सक्छन् । झुठो कुरा भनेर हिँड्दा पनि बेलुका केरकारमा परेर साँचो कुरा पत्ता लागी झनै बित्याँस पर्न सक्छ र बिनसित्तिको कलझगडा उत्पन्न हुनसक्छ । घरबाट क्षणिक अवकाश लिनको लागि पनि बेलुका के भनेर सम्झाउने सोचविचार पहिल्यै गर्नुपर्छ । घर फर्कँदा एक मुठा ताजा साग, घरको वरपर नपाइने तर जहानलाई खुप्पै मनपर्ने तरकारी, सुगर फ्रि मिठाइ वा सानोतिनो गिफ्ट बोकेर आई मिठो बोलीले, ‘हेर न, फलानालाई भेट्ने भनेको त त्यो पाजी त आउँदै आएन । दुक्ख मात्र दियो असत्तिले !’ भनेर काल्पनिक पात्रउपर आक्रोश पोखेको जस्तो नाटक गरिदिएपछि केरकारमा कमै परिन्छ ।
गाडीमा सिट पाइएन भने बसपार्कमै पुगेर सबैभन्दा पछिल्लो सिटमा बस्नुपर्छ । अनि घरपरिवार, साथीभाइ, अफिसको काम, देशको समसामयिक परिस्थिति आदिलाई मनबाट लखेटी हाइसन्चोसँग आराम गर्नुपर्छ । स्वतः नआए पनि चार पाँचचोटि लामो हाइ काढ्दा निद्रा देवीले आफैलाई बोलाएको हो भन्ने बुझी हत्तपत्त सेवा गर्न आइहाल्छिन् ।
गाडीमा निदाउँदा मस्तिष्कले नै अलार्मको काम गर्छ । मस्तिष्कलाई सूचना दिन्छु, ‘१५/१५ मिनेटमा नबिर्सीकन ब्युँझाइदे है ।‘ उसले भनेबमोजिम बिचबिचमा ब्युँझाइहाल्छ । बिचमा ब्युँझनु छैन भने मस्तिष्कलाई भनिदिन्छु, ‘बिचबिचमा डिस्टर्ब नगरेस् ।‘ मस्तिष्कले निद्रामा बाधा हाल्दैन र गन्तव्यमा पुग्नुभन्दा ५ मिनेट अघि मात्र ब्युँझाइदिन्छ । मस्तिष्कले नै ब्युँझाउन बिर्सियो भने पनि फरक पर्दैन । जबर्जस्ती उठाउने त्यहाँ हुँदै हुन्छः गाडीको चालक वा सहचालक । के को पिर ? सानो कपमा चिया पिएजस्तै ठिक्कको निद्रा निदाउने अवसर अन्त कता पाइन्छ होला र ?
राति नसुतेर ८ घण्टाको निद्रा गुमाइयो भने अर्को ८ घण्टाकै निद्राले क्षतिपूर्ति गर्नुपर्दैन । जस्तोसुकै अनिदोलाई पनि १ घण्टा निदाए काफी हुन्छ । तर घरमै सुतेर निद्रा पुर्याउन खोज्दा भने ठुलो जोखिम मोल्नुपर्ने हुन्छ । घरमा सुत्दा मस्तिष्क पनि अल्छी हुन्छ । मस्तिष्कले अलार्मको काम गर्न मान्दैन । १ घण्टा सुत्न खोज्दा ४ घण्टासम्म भुसुक्क निदाइन्छ । अरूले काम गरिरहेको बखत आफू दिउँसै घुरेर सुत्दा कसको परिवारले पो राम्रो मान्छ र ? बित्थैमा झगडा पर्न सक्छ । घोचपेच चल्छ । उल्टै तनाव थपिन सक्छ । त्यसको घाउ सन्चो हुन् हप्तौँ वा महिनौँ लाग्न सक्छ ।
घरमै निद्रा पुर्याउन खोज्दा ज्यान झनै गल्छ । सपनामा ज्यादै डरलाग्दा र अशुभ कुराहरू मात्र देखिन्छन् । सपनामाथि विश्वास गर्नेहरूले त दिउँसो सुत्दै नसुत्नु बेस । तर गाडीमा देखिने सपना मिठा र अनौठा हुन्छन् । ब्युँझिएपछि एक एक सम्झिएर नोटबुकमा उतार्न सक्ने हो भने बेजोडको श्वैरकाल्पनिक उपन्यास तयार हुनसक्छ ।
गाडीमा पनि निदाउन नसक्ने हो भने त झन् ‘घटाऊँ गाँडभन्दा बढाऊँ गाँड’ भनेजस्तो हुन्छ । धूलो र धुवाँले रङ्मङिएका भाँतीभाँतीका यात्रीहरू ! भाँतीभाँतीका ज्याद्रा कुराकानीहरू ! ठाउँठाउँमा यात्रु झार्दै, चढाउँदै र पर्खँदै गरेको गाडीको लास्टै दिक्कलाग्दो यात्रा । हाँडीगाउँका जात्राका जात्रुहरूको जस्ता अनुहारहरू निरन्तर हेर्दै र हावादारी कुरा सुन्दै गर्दा थकान झन् बढ्छ । यस्तो अवस्थामा न आँखा चिम्लन मिल्छ, न कान थुन्न मिल्छ ।
यस्तो अवस्थामा गाडीमै आरामले निदाउन सकियो भने शरीरले तुरुन्तै ऊर्जा पुनः प्राप्त गर्छ । आँखालाई र मस्तिष्कलाई एकछिन पूर्ण छुट्टी मिल्छ । जाग्राम बस्दा लामो दूरी बोर लाग्छ; निदाउँदा यात्रा छोटो अनुभव हुन्छ। मस्तिष्कलाई विश्राम मिल्छ । काम, तनाव, चिन्ता—सब एकछिनका लागि सुस्ताउँछन् । मानसिक फ्रेशनेस बढ्छ। चलिरहेको गाडीको हल्का हल्ला ‘नेचुरल लोरी’ जस्तै हुन्छ । गाडीको कंपन र आवाज धेरैलाई गहिरो निद्रा लगाउने प्राकृतिक वातावरण जस्तै हुन्छ। गन्तव्यमा पुग्दा फ्रेश महसुस हुन्छ । निद्रा पुगेपछि शरीर हल्का हुन्छ, काम गर्ने मुड पनि राम्रो हुन्छ।
गाडीले हल्लाउँदै लोरी गाउँदा पनि निद्रा आएन भने गाडीका यात्रीहरूको सुक्ष्म अवलोकन गर्न थाल्नुपर्छ ।
यात्रामा थरी थरी यात्रुहरू हुन्छन् । कोही बाहिरका दृश्य हेरेर मुग्ध हुनेहरू हुन्छन् । कोही दोस्रो, सीट भेटेपछि मोबाइल चार्ज गर्ने ठाउँ खोज्नेहरू हुन्छन् । कोही मोबाइल झिकेर कानमा टाँस्दै हल्ला गर्न थाल्छन् । कोही चालक र सहचालकसँग बिनसित्ति किचकिच गर्न थाल्छन् । कोही गाडी गुड्न नपाउँदै सिद्धि–बुद्धि गुमाएर घ्वार्र घ्वार्र घुर्दै भुसुक्कै निदाइहाल्छन् ।
यहाँ हाम्रो मुख्य पात्र—तेस्रो वर्गका महानुभावहरू हुन्।
गाडी लाग्नेहरूले गाडीको गडगड आवाजलाई ‘कर्कस’ ठान्छन्। तर निद्रालु भक्तजनहरूले यसलाई ‘नेचुरल लोरी’ ठान्छन्। गाडी छुटेको पाँच मिनेटमै टायरको तालमा उनीहरूको टाउको स्वस्फूर्त सिटको पछाडि वा अगाडिपट्टि तुर्लुङ्ङ झुण्डिहाल्छ । झुण्डिँदै—फर्किँदै—कहिलेकाहीँ छिमेकी यात्रुको पिठ्युँमा पनि ठोकिँदै निद्रा देवीसँग दिव्यलोकतिर विचरण गर्छ । कोही त सँगैको सिटमा बसेकी साक्षात् देवीको वक्षमा टाउको जुधाउनको लागि निदाएको बहाना गर्ने हरामखोर पनि हुन्छन् ।
घुम्तीमा एक्कासी गाडी भगल्टिन्छ र त्यसैसँग यात्रु पनि जोल्टिन्छन् । मस्त निद्रामा परेकोचाँहि झल्याँस्स ब्युँझेर हेर्छ र ठान्छ “म कुन दुनियामा आइपुगेँ ? गाडी कहाँ ठोक्कियो र खस्दै छ ? गन्तव्य कहाँ हो ? म झरिसकें कि गाडीमै छु ?”
तर पुनः एकछिनमै ऊ आफ्नो ‘ज्ञानयोग’ पुनःस्थापित गरेर फेरि निद्रारूपी तपस्या जारी राख्दछ ।
सहयात्रीको लागि भने निद्रालु भक्तजनहरू मनोरंजनका अत्युत्तम साधन हुन् । उनीहरू गाडीको ‘लाइभ कमेडी शो’ नै हुन् । बस्नासाथ कहिले टाउको अगाडिपट्टि झुन्डिन्छ, कहिले छेउको यात्रुतिर ढल्किन्छ । झिँजो मान्ने सहयात्रीले सातो खान्छन् । भाका फेरी फेरी घुराईको गीत गाउँछ । अपान वायु निस्केको पत्तो पाउँदैन । कहिले झ्यालमा त कहिले आफ्नै घुँडामा टाउको ठोक्किएर झसङ्ग ब्युँझन्छ र छेउको यात्रुलाई अर्कै ग्रहको मान्छे ठानी क्वार्क्वार्ती हेरेर फेरि निदाउँछ । कहिलेकाहीँ मुख खुल्छ र विशेष ध्वनि निकालेर बर्बराउँछ । निदनिदै केटाकेटीलाई हप्काउँछ, श्रीमतीलाई फकाउँछ । सहयात्रीहरू उसको चर्तीकला देखेर सित्तैमा सिनेमा हेर्न पाएको आनन्दको उपभोग गर्छन् ।
गन्तव्यमा पुग्दा निद्रालुको जीवनमा नयाँ अध्याय सुरु हुन्छ । सबैभन्दा रमाइलो क्षण— गाडी रोकिइसकेको हुन्छ सबै झरिसकेका हुन्छन् । सह–चालक झकझकाउँदै भन्छ, “सर ! गाडी रत्नपार्क पुगिसक्यो, छिटो झर्दिनु न !”
“हँ ? हँ ?? साँच्चि म त वानेश्वरमै झर्नुथियो, किन नभनेको त ?” भन्दै तब ऊ निद्राबाट पुनर्जन्म पाएजस्तै छट्पटिँदै उठ्छ । राताराता आँखा, कपाल चारैतिर उडेको, ओठको कोसमा र्याल र नाकमा सिँगानका पाप्रा लगाएर भौँतारिँदै गाडीबाट झर्छ ।
पहिलो यात्राका यस्ता कुराहरू दिमाग थपक्क बसिसकेका हुन्छन् । अन्तिम गन्तव्यमा पुगेपछि गाडीबाट झरेर सके चिया नसके पानी मात्र खाएर दश पन्ध्र मिनेटजति बाटोको यताउता यत्तिकै हल्लिनुपर्छ । अनि फेरि घर फर्कने गाडीमा चढेर पछिल्लो सिटमा बसी आँखा मच्चक्क चिम्लिनुपर्छ । निद्रा तुरुन्तै नआएमा अघिल्लो गाडीका यात्रीहरूको अनुहार र परिघटना सम्झँदै मनलाई आनन्दित तुल्याउनुपर्छ । गाडीको गडगडले लोरी गाउन थाल्नेबित्तिकै झ्याप्पै निद्रा लागिहाल्छ । मस्तिष्कलाई आफू झर्ने ठाउँ कहाँनेर हो बताइदिनुपर्छ । उसले उठाएन भने जहाँ निद्रा खुल्छ त्यहीँ झरेर पैदलै घरतिर सवार हुनुपर्छ ।
घर परिवारको लागि के कोसेली ल्याउनुपर्छ र के बहानाबाजी गर्नुपर्छ माथि बताइसकेको छु । संयमितता अपनाएर घरको प्रवेशद्वारमा पाइलो हालेपछि काम गरिरहेका परिवारजनसँग विनम्रतापूर्वक, ‘तिमी थाकिसकेका हौला म गरिदिन्छु यो काम ! तिमी एकछिन आराम गर भनेर फकाउन बिर्सन हुँदैन । यसो गरे साप पनि मर्छ र लठ्ठी पनि भाँचिदैन ।